अर्थ बजारसमाज

चिनियाँ ह्याकरले झोलामा नअटेको पैसा गार्डलाई दिए, पक्राउपछि पनि हँसिलो अनुहार !

शनिबार राति ११ बजे काठमाण्डौको दरबारमार्गमा रहेको नबिल बैंकको एटीएमबाट अस्वभाविक रुपमा पैसा झिकिएको जानकारी पाएपछि बैंकले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी नेतृत्वको टोली तत्कालै दरबारमार्गमा पुग्यो ।
प्रहरी दरबारमार्गमा पुग्दा चिनियाँ नागरिक झु लियाङगाङले  एटीएमबाट झिकेको पैसा झोलामा खाँद्दै थिए । उनलाई प्रहरीले त्यहाँबाट उम्कन दिएन । प्रहरीले उनीबाट थप जानकारी हात पार्‍यो र उनलाई नै लिएर अरु एटीएम कार्डबाट अवैध रुपमा पैसा झिक्ने चिनियाँसम्म पुग्यो ।
हात्तीसारमा रहेको जय नेपाल फिल्म हलनजिकै रहेको होटल माया मनोहर बुटिकमा अरु ४ जना चिनियाँ नागरिक पनि भेटिए । उनीहरु सबै नेपालमा नक्कली एटीएम र पिन प्रयोग गरेर पैसा निकाल्नकै लागि शुक्रबार मात्रै काठमाण्डौ आएका थिए ।
प्रहरी पुग्नुअघि नै उनीहरुले माया मनोहर छाडेर अर्को होटलमा जाने तयारी गरिरहेका थिए । तर प्रहरीले लिफ्टबाटै पक्राउ गर्‍यो । त्यसपछि उनिहरुका झोला खोलियो । सबै झोला पैसाले भरिएका थिए । केही पैसा बेडमा अनि साना–साना झोलामा थिए ।
प्रहरीले दरबारमार्गका १ जनासहित ५ जनालाई पक्राउ गर्‍यो । उनीहरुको साथबाट १ करोड २६ लाख रुपैयाँ बरामद भएको छ ।
यस्तै १ सय ३२ वटा नक्कली भिसा कार्ड र १७ वटा सक्कली भिसा कार्ड पनि बरामद भएको छ । यस्तै उनीहरुको साथबाट १ करोड २६ लाख रुपैयाँसहित अमेरिकन डलर ९ हजार १ सय ८, चिनियाँ मुद्रा ११ सय ९१ युआन, २ सय ५० युरो, क्याम्बोडियन ५ हजार, हङकङ डलर ८० पनि बरामद भएको छ ।
अहिलेसम्म ठ्याक्कै कति रकम झिकियो भन्ने खुलेको छैन । नेपाल राष्ट्र बैंकले अहिलेसम्म १ करोड ६८ लाख रुपैयाँ रकम अनधिकृत रुपमा झिकिएको भेटिएको र थप अनुसन्धान भैरहेको जनाएको छ ।
नेपाल राष्ट्र बैंक भुक्तानी सेवा प्रणालीका कार्यकारी निर्देशक बमबहादुर मिश्रले उनीहरुले कति रकम झिकेका हुन् भन्ने अझै टुंगो नलागेको जानकारी दिनुभयो । 
चिनियाँहरुले पैसा झिक्नका लागि प्रभू, एनआईसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आईएमई, र सनराइज बैंकको कार्ड प्रयोग गरेका थिए । उनीहरुले नबिल, नेपाल एसबीआई र नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम बुथ प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
लुटेराले झोलामा नअटेको पैसा गार्र्डलाई दिए, पक्राउपछि पनि हँसिलो अनुहार !
महानगरीय प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीका अनुसार उनीहरुले केही रकम एटीएम नजिकैका सुरक्षा गार्डलाई समेत फालिदिएका थिए ।
महानगरीय प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीका अनुसार उनीहरुले केही रकम एटीएम नजिकैका सुरक्षा गार्डलाई समेत फालिदिएका थिए ।
‘उनीहरुले पैसा झिकेछन्, सुटकेसमा नअटेपछि नोटका केही बिटा गार्डलाई दिएको बताएका छन्, हामीले गार्डलाई दिएको पैसा फिर्ता गर्नुपर्छ भन्ने बयान दिएका छन्, को गार्डलाई दिए र कति वटा बिटा फालेका हुन भन्ने त अनुसन्धानपछि नै थाहा होला’, सुवेदीले भन्नुभयो ।
एटीएमबाट पैसा झिकेर पक्राउ परेका चिनियाँ नागरिकमा कुनै निराशा नदेखिएको पनि वरिष्ठ उपरीक्षक सुवेदीले बताउनुभयो ।
‘चिनियाँ भाषा हामीले बुझ्दैनाैँ, दोभासे प्रयोग गरेर हामीले सोधपुछ गर्‍यौँ, उनीहरु कोही पनि निराश देखिँदैनन्, १ जना अलिअलि चिन्तामा देखिन्थे, अरु चार जना त हाँसिखुसी नै देखिन्छन्, हामी अचम्ममा छौँ’, सुवेदीले भन्नुभयो । 
विभिन्न बैंकका एटीएमबाट रकम चोरी भएपछि केही बैंकले काठमाण्डौ उपत्यकामा एटीएम बन्द गरेका छन् । 
चिनिया ह्याकरहरुले नक्कली एटिएम कार्ड बनाएर १ करोड भन्दा धेरै रकम झिकेपछि नविल, प्रभुलगायका केही बैंकले एटीएम बन्द गरेका हुन् ।
लुटिएको रकम अझै बढ्न सक्ने राष्ट्र बैंकले जनाएको छ । ह्याकरहरुले केही बैंकको सिस्टम नै ह्याक गरेको र केही नक्कली एटीएम बनाएर पैसा झिकेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
एटीएम र बैंकिङ प्रणालीको सुरक्षाको बारेमा छलफल गर्न अहिले राष्ट्र बैंकमा बैठक बसिरहेको छ । 
ह्याकिङमा संलग्न ५ जना चिनिया नागरिकलाई प्रहरीले पक्राउ गरेको छ, उनीहरुलाई दिउँसो सार्वजनिक गर्ने तयारी भैरहेको छ । 
उज्यालो अनलाईनबाट

Related Articles

Close