समाज

चितुवाको आक्रमणबाट बालकको मृत्यु

नरभक्षी चितुवाको आक्रमणबाट बैतडीमा एक जनाले ज्यान गुमाएका छन् । हिजो शुक्रबार राति बैतडीको तल्लोस्वराड क्षेत्रमा नरभक्षी चितुवाको आक्रमणवाट शिवनाथ गाउँपालिका वडा नम्बर २ टाणीखर्क निवासी रामसिंह मडैका ७ वर्षीय छोरा सुदीप मडैको ज्यान गएको हो ।
शुक्रबार बेलुका साढे ७ बजेतिर घरमै खेलिरहेका बेला चितुवाले एक्कासि सुदीपमाथि आक्रमण गरेर उनलाई बेपत्ता पारेको थियो । छिमेकी र परिवारको पहलमा खोज्ने क्रममा बालकको शव सवा ११ बजेतिर घरभन्दा ५०० मिटर टाढा दक्षिणतिरको चिरभोले जंगलमा क्षतविक्षत अवस्थामा फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।
२०६८ सालयता बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट २४ जनाको ज्यान गइसकेको छ भने दर्जनाैँ घाइते भएका छन् ।
चितुवाको आक्रमणबाट बालकको ज्यान गएपछि त्यस क्षेत्रका नागरिक त्रसित बनेका छन् । त्यस क्षेत्रका नागरिक त्रसित बनेपछि थप सुरक्षा परिचालन गर्ने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।
आवास र अन्य जनावरहरूको अभाव भएसंगै चितुवा मानव वस्तीमै पसेर मानिसमाथी नै आक्रमण गर्न थालेकोले आफूहरू डर र त्रासमा बस्नुपर्ने अवस्था सिर्जना भएको स्थानिय वासिन्दाहरूले गुनासो गरेका छन् ।

Related Articles

Close