थप

कल्पना गर्नुहोस त ; दर्जनौं बर्षपहिलाको काठमान्डौ कस्तो थियो होला?

नारायण गाऊँले – यसो सोच्नुस् त, दर्जनौं वर्षअघि काठमाडौंको विकास-मोडल कस्तो हुँदो हो ?
पानीसितको रानीपोखरी त पक्कै याद छ होला । त्यसको पूर्वतिर विज्ञान पढाउने त्रिचन्द्र क्याम्पस काखमा चेपेर सुन्दर घण्टाघर उभिएको थियो ।
दक्षिणतिर सास फेर्न खुला ठाउँ चाहिन्छ भनेर होला, रत्नपार्क थियो । त्यसको छेउमा हजारौं मान्छे जम्मा हुन मिल्ने खुलामञ्च थियो र त्यस लगत्तै दशरथ रङ्गशाला र धरहरासम्म फैलिएको टुँडिखेल थियो । पश्चिममा पुरानो दरबार स्कुलको कलात्मक भवन याद नै होला । नाचघर पनि भनिने राष्ट्रिय सांस्कृतिक संस्थान एउटा छेउमा थियो । बाटो काट्ने भूमिगत मार्ग कतिवटा होलान् आजसम्म ? रानीपोखरी छेउको अन्डरपास काटेर ललितकला क्याम्पस या बीर अस्पताल त पुग्नुभएकै होला ।
पूर्व दक्षिणमा बसपार्कदेखि राष्ट्रिय सभागृह सम्मका संरचनाले आजसम्म देशको इज्जत जोगाई रहेका छन् । प्रदर्शनी मार्गमा लहरै उभिएका क्याम्पसहरू हेर्नुस् । विश्वभाषा क्याम्पस, ल क्याम्पस, रत्नराज्य क्याम्पस र वाल्मीकि क्याम्पस । त्यहीँको भृकुटी मण्डप पञ्चायतका भूमाफियाले बाँडेर खाएको भए आज के अवस्था हुँदो हो ? घरमा आगो लाग्दा बाहिर निस्किने ठाउँ पनि हुन्नथ्यो । शायद चालीस वर्षअघि देशमा ३२ वटा विद्युतीय बस गुड्थे भन्ने हामीलाई थाहा छैन । अहिले दुई वटा बसको उद्घाटन गर्न मन्त्रीहरू बीच तँछाड़ मछाड हुन्छ ।

धेरै पर पुग्नुपर्दैन । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान भन्ने एउटा संस्था याद होला । साहित्य, भाषा र कलाको लागि त्यति सुन्दर संरचना अहिलेसम्म अर्को बनेको छैन । वरपर त्यति फराकिलो र ठूलो अर्को जग्गा पनि बाँकी छैन । एउटा चिड़ियाखाना सम्म हामीले थप्न सकेका छैनौं । महेन्द्र संस्कृत विश्वविद्यालयको नाम फेरेर नेपाल संस्कृत बनायौं तर के बिर्सियौं भने आफैसित लडेका दशरथ चन्ददेखि गङ्गालालसम्मका नाममा तिनले महत्त्वपूर्ण संरचना बनाएका थिए । हामीले पनि नयाँ बनाएर पो त्यसको नाम वीपी या केपी राख्नु ! शानेवानिलाई नेवानी बनाएर के भो र ? आज डुब्न लागिसक्यो ! राजमार्गलाई लोकमार्ग भन्दै गर्दा त्यो चिल्लो, सफा र थप सुरक्षित होस् र पो !

भौतिक विकास मात्रै विकास होइन भन्ने त धेरै पहिले नै हामीले सिकेको र लागू गरिसकेको कुरो रहेछ । नत्र त्यत्रो खर्च गरेर दशरथ रङ्गशाला किन बन्दो हो ? राष्ट्रिय नाचघर र प्रज्ञा प्रतिष्ठान किन बन्नुपर्थ्यो ? घण्टाघर मुनि त दरबार बन्दो हो, क्याम्पस किन बन्थ्यो ? रत्नपार्क र टुँडिखेल किन चाहिन्थ्यो ? अहिले माइतीघर मण्डलामा त चार जना मान्छे जम्मा नभइदिए हुन्थ्यो भन्ने निषेधमुखी प्रजातन्त्र छ, त्यो निरङ्कुश तन्त्रले त्यत्रो खुलामञ्च किन बनाउनुपर्थ्यो ? अहिलेसम्म आफ्नै खुबीले एउटा पनि सभागृह बनाउन सकिएको छैन, त्यत्रो जग्गा र बगैंचासितको राष्ट्रिय सभागृह किन चाहिन्थ्यो ? अस्तिसम्म साँच्चिकै पानी झर्ने ढुङ्गेधाराहरू कसले किन बनाउँथ्यो ? आज बाटोमा प्यास लागे कहाँ जानुहुन्छ ? अन्य पशुपन्छी के गर्छन् ? आज त खानेपानी मन्त्रीले ढुङ्गेधारा बारे बोल्दैनन्, एउटा कार्टुनजस्तो एटीएम तामझाम सहित उद्घाटन गर्छन् र नयाँ युग आएको घोषणा गर्छन् । हिजो सामन्ती भनिएकाहरूले बरु वीर हस्पिटलदेखि कान्ति र आयुर्वेद अस्पतालसम्म सरकारकै दायित्वमा बनाएका थिए, आज समाजवादी भन्नेहरूले स्वास्थ्यलाई व्यापार बनाएका छन् ।

लाग्छ, हामी मध्ये कसैसित पनि विकासको भिजन छैन । छ त खालि विगतलाई गाली गर्ने र आफ्नै नाम र पार्टीलाई गौरवशाली भन्ने खोक्रो भाषण र बोक्रो शासन बाँकी छ ।

शहरको आत्मा भनेको संस्कृति, जात्रा र इतिहास पनि हो । हिजो राज्य र शासक तिनसँग जोड़िएका थिए । इन्द्रजात्रादेखि भोटो जात्रासम्म राज्यको तिनको उपस्थिति थियो । ती संरक्षक बनेका थिए । न नाशियोस् भनेर गुठी बनाएका थिए । आज त तिनैमाथि पनि आक्रमण भइरहेछ । दर्जनौं पाटीपौवा, मठमन्दिर र चैत्यहरूको दुर्दशा के बयान गर्नु ? न संस्कृति बचाउने प्लान छ न सभ्यताको चिन्ता छ । न भौतिक विकास नै गर्न सकिएको छ । भएका विद्यालय मासेर शपिंग कम्प्लेक्स बनेका छन् । भएको खुला ठाउँ मासेर भवन बनेका छन् । दर्जनौं पोखरी बनाउने कुरो त परको भयो, भएको एउटा पोखरीमा समेत पानी भर्न सकिएको छैन । शहरसँग एउटा घुम्न लायकको पार्क छैन, चिड़ियाखाना छैन, कृषि फार्महरू छैनन्, नाटकघर र सङ्ग्रहालयहरू छैनन् । सार्वजनिक पुस्तकालयहरू छैनन् । व्यवस्थित पानी र ढलजस्तो एउटा शहर बन्न चाहिने सामान्य संयन्त्र पनि छैनन् । कुनै एउटा यस्तो आधुनिक संरचना बनेको छैन, जसलाई हेर्न कसैले टिकट काटेर काठमाडौंको यात्रा गरोस् ।

बुङ्ग धुलो उड्ने र पैदल हिँड्न नमिल्ने सड़क, सड़कबीचबाटै यात्रु चढाउने सवारी साधन, एक्छिन छेउमा उभिन नसकिने दुर्गन्धित खोलाहरू र जताततै छरिएको फोहोर बोकेर हामी विश्वकै नमुना शहर भएको भाषण गर्छौं । र पछाडि फर्केर तिनलाई गाली गर्छौं जसले देशको बजेट दुई लाखको हुँदा छिमेकी देशको सरसहयोग लिएर भए पनि तीन लाखको काम गरेका थिए ।

दिक्क लाग्छ । गाली गर्ने समय त पुरानाले भन्दा अझ राम्रो गर्न पो खर्च गर्नु ! त्यसै ताली बज्छ नि !

(फेसबुकबाट साभार)

Related Articles

Close