अर्थ बजारप्रदेश ४

ल्हासा- लुम्बिनी रेलमार्ग छिट्टै बन्ने दाहालको दाबी

बुटवल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्हासादेखि लुम्बिनीसम्म रेलमार्ग बनाउने योजना केही दिनमा अगाडि बढ्ने बताएका छन्।

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले गरेको तिलोत्तमा इन्मेष्टमेन्ट समिटमा बिहीबार दाहालले ल्हासादेखि लुम्बिनी रेलमार्ग अब सपना मात्रै नरहेको उल्लेख गरे।

‘ल्हासादेखि लुम्बिनी रेलमार्ग हिजो हामी सपना भन्थ्यौं, अब सपना छैन,’ उनले भने, ‘यताबाट रेल चल्ने प्रक्रियाको सुरूवात हुँदैछ। केही दिनपछि रेलमार्ग प्रक्रियाको काम अगाडि बढ्दै छ।’

रेलमार्ग बन्यो र सडक पनि फराकिलो बनाउन सकियो भने लुम्बिनीमा पर्यटक बढ्ने उनले बताए। ‘यस्ता पूर्वाधार बने भने लुम्बिनी त पर्यटनको दृष्टिले मक्का मदिनाभन्दा पनि केन्द्रमा पर्छ,’ उनले भने। पूर्व पश्चिम रेल र भैरहवामा विमानस्थल सञ्चालनमा आएपछि झन् पर्यटक बढ्ने उनले बताए।

दाहालले स्वदेशी लगानीकर्ताले दिल खोलेर लगानी गरे मात्रै विदेशी लगानीकर्ता भित्र्याउन सकिने उल्लेख गरे। ‘स्वदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न स्वर्गजस्तो छ भनिदिए पो विदेशी लगानीकर्ता आउँछन्,’ उनले भने।

निजी क्षेत्र ठग र ठग्नेहरू मात्रै हो भन्ने सोच राणा, पञ्चायत र शाहहरूमा भए पनि अहिलेको सरकार भने त्यस्तो नरहेको उनले बताए। निजी क्षेत्रलाई स्वतन्त्रता र सुरक्षा दिएर लगानीमैत्री वातावरण बनाउन आफू सधैं लागिपर्ने उनले बताए।

‘निजी क्षेत्र भनेका ठग्नेहरू हुन्। जतिसक्दो दोहेर खानुपर्छ भन्ने राणा, शाह र पञ्चायतकालको सोच हो, हामी त्यस्ता होइनौं,’ उनले भने।

Related Articles

Close