थप

साविती बयान – म कहिल्ल्यै माओवादी नै थिएन

राम लोहनी /
म कहिल्यै माओवादी थिइनँ। माओवाद त मेरो रणनैतिक खुड्किलो हो। खासमा मैले नै हो २०४६ को जनआन्दोलन गर्नु पर्छ भनेर कमरेडहरूलाई सल्लाह दिएको। तर उहाँहरूलाई कसैले पत्याएन। अनि मैले गणेशमानसिंहलाई गएर सम्झाएँ — नेपालमा आन्दोलन गर्नुछ भने हामी वामपन्थीहरूलाई साथ नलिइकन हुँदैन भनेर। उहाँले मेरो कुरा मान्नुभयो र दिल्ली दौेडाहामा पठाउनुभयो। दिल्ली त मेरो पानी पँधेरो जस्तो थियो। अहिले पनि छ। दिल्लीमा सबभन्दा पहिला येचुरीलाई भेटेँ। येचुरीले वामपन्थीलाई मात्र बोलाएर हुँदैन भन्ने सल्लाह दिए। अनि कुँदेर चन्द्रशेखर कहाँ गएँ। उनीहरू आए। उनेर्को भाषणले जे गर्‍यो, त्यो सबैलाई थाहै छ। तर पर्दा पछाडि म थिएँ भन्ने थाहा पाउने चन्द्रशेखर पनि अहिले छैनन्, गणेशमान पनि अहिले छैनन्। पछि मैले मदन भण्डारीलाई जनताको बहुदलीय जनवादको अवधारणा दिएको हो। त्यसैलाई उहाँले विकास गर्नुभयो। सबैले पत्याए। त्यसको पछाडि म थिएँ भन्ने जान्ने भण्डारी अहिले जिवित हुनुहुन्न। भण्डारीको देहावसानपछि मलाई कसैले पुछेन। नत्र म उहिल्यै त्यो पार्टीमा पुगिसकेको हुन्थे। भण्डारीपछि मै हुन्थेँ रोलक्रममा। त्यो मुलुकको पनि दुर्भाग्यो थियो। मेरो पनि दुर्भाग्य नै। अनि मैले बाध्य भएर माओवादलाई अँगाल्नु पर्‍यो। म माओवादी भएकोले माओवाद अँगालेको होइन। मेरो चित्त त जबजमै थियो। पार्टीमा विषवृक्ष मौलायो, म अटाइँन। त्यसपछि बाध्य भएर ६२ सालको आन्दोलन गर्नु पर्‍यो। त्यो आन्दोलनको डिजाइनर मै थिएँ। त्यो थाहा पाउने गिरिजाप्रसाद पनि अहिले हुनुहुन्न। समयले मविरुद्ध यसरी क्रुर खेल खेलेको कुरा कसलाई सुनाउँ?
तपाईँहरू पत्याउनुस्, नपत्याउनुस्। पुष्पलाललाई कम्युनिस्ट पार्टी स्थापना गर्न सल्लाह दिने पनि मै थिएँ। भन्नुहोला, तँ जन्मेकै थिइनस्। हो, यो शरीरको जन्म भएको थिएन।

हामी वामपन्थीहरू वामपन्थमा विश्वास गर्छौँ। शरीरहरू जन्मन्छन्, मर्छन्। तर पन्थको अन्त हुँदैन। चाहे वामपन्थ होस्, चाहे दक्षिणपन्थ!

यो घटना वनारसको हो। पुष्पलाल वनारसमा हुनुहुन्थ्यो। म एक साधुको रूपमा थिएँ। उहाँ नेपालको राजनीतिमा केही गर्न सकिनँ भनेर सन्यास लिनको लागि मकहाँ आउनुभएको थियो। मैले उहाँलाई सन्यासको दीक्षा दिन मानिनँ। बरू कम्युनिस्ट पार्टी गठन गर्न सल्लाह दिएँ। अनि आफूले पनि साधुको चोला त्यागेर नयाँ जन्म लिने र भविष्यमा कम्युनिस्ट आन्दोलनलाई नेतृत्व गर्ने आश्वासन उहाँलाई दिएको थिएँ। त्यही विश्वासमा परेर उहाँले पार्टी स्थापना गर्नुभयो। त्यसको केही वर्षपछि उपयुक्त गर्भ पहिचान गरेर मैले पनि नेपालमा जन्म लिन साधुको चोला त्याग गरेँ। तर जन्मको समयमा मलाई पूर्वजन्मको स्मृति तत्कालको लागि लोप भयो। त्यसले गर्दा तत्काल पुष्पालालजीसँग कार्यगत एकता गर्न सकिएन। पछि जब मलाई आफ्नो पूर्वजन्मको ज्ञान भयो, त्यो बेलासम्ममा उपयुक्त सल्लाहको अभावमा पुष्पलाल दक्षिणपन्थी धारमा पुगिसकेका रहेछन्। उहाँलाई मैले सुरुवातमै तत्काल गठन भएको नेपाली कासङ्ग्रेसँग कार्यगत एकता गरेर नेपालको आन्दोलन सफल हुने मन्त्र दान गरेको थिएँ। त्यो मन्त्र चाहिँ उहाँले बिर्सनु भएको रहेनछ। उहाँ अडिग रहनु भएको थियो। तर उहाँलाई त्यो कुरामा साथ दिने कोही थिएन। आफै पनि वामपन्थी धारबाट विचलित हुँदै हुनुहुन्थ्यो। त्यही क्रममा उहाँको देहावसान भैहाल्यो। मलाई पूर्वजन्मको स्मृति र आफूले दिएको वचनको सम्झना भएपछि मैले कम्युनिस्ट पार्टीको सदस्यता लिएँ र मलाई नेतृत्वमा अगाडि बढ्ने अवरस त प्राप्त भयो। तर पुष्पलालजीलाई यो सबै कुरा सम्झाउने परिस्थिति पैदा भएको थिएन। दुर्भाग्यवश उहाँको देहावसान भयो र मेरा योजना स्थगित जस्तै भयो। त्यसपछि बल्ल बल्ल ४६ सालको पूर्वसन्ध्यामा यति काम गर्न सकेँ। त्यसको परिणाम यहाँहरू सबैलाई थाहै छ।
र, आज म यहाँ छु। यो परिस्थितिमा मलाई नेपालमा कम्युनिस्ट आन्दोलनप्रतिको आफ्नो निष्ठा, लगाव, समर्पण र योगदानको स्मरण साथीहरूलाई गराउनु परेको छ। यो मेरो लागि ठूलो दु:खको क्षण पनि हो। तर त्यसो नगरी हुने स्थिति पनि भएन। इतिहास सुनाउन पाउनु गौरवको क्षण पनि हो भन्ने हामलाई लागिरहेको छ। यति इतिहास बताइसकेपछि मलाई ठूलो भारी बिसाएजस्तै सन्चो भएको पनि अनुभूत भएको छ। अब जे हुन्छ, यहाँहरूकै विवेक, निर्णय र बुद्धिमत्ताका आधारमा हुन्छ। नेपाली कम्यनिस्ट आन्दोलनलाई निर्णायक विन्दुमा पुर्‍याउनको लागि यहाँहरूले सही निर्णय गर्नुहुने छ भन्ने आशा लिएको छु। आशा गर्छु मैले फेरि अर्को जन्म यसै प्रयोजनको लागि भनेर लिन नपरोस्!

(फेसबुक स्टाटसबाट)

Related Articles

Close